काठमाडौं । भारतीय समकक्षी एस जयशंकरसँग दुई देशको हित, आसी सहयोग र सम्बन्ध सुधारबारे छलफल भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छन् । दिल्ली भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटेपछि सामाजिक सञ्जाल मार्फत् छलफलबारे उल्लेख गरेकी छन् ।
‘भारतीय विदेशमन्त्री श्री एस. जयशंकरसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो । यस भ्रमणबाट सदियौं पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु’, फेसबुकमा लेखेकी छन् । परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ ।
भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाका अनुसार दुई मन्त्रीहरुका बीच दुई पक्षीय सम्बन्धमा सबै पाटाहरुका विषयमा छलफल भएको थियो । भेटमा भारतका तर्फबाट विदेश सचिव विक्रम मिश्री, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, भारतका उत्तर हेर्ने सहसचिव अनुराग श्रीवास्तवलगायत सहभागी थिए ।
नेपालका तर्फबाट कार्यवाहक राजदूत थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगाना , दिल्लीस्थित दूतावासकी राजनीतिक मिनिस्टर काउन्सेलर द्रुपदा सापकोटालगायत सहभागी थिए ।