परराष्ट्र मन्त्री र चिनियाँ समकक्षीबिच वार्ता, थप २० लाख डोज खोप अनुदान दिने


काठमाडौं । चीन सरकारले नेपाललाई थप २० लाख डोज  कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच मङ्गलवार भएको टेलिफोन वार्ताका क्रममा चीनले यस्तो घोषणा गरेको हो । चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप नेपाललाई दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनले नेपाललाई यसअघि २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने सिनोभ्याक्सको १० लाख मात्रा उपलब्ध गराउने वचन दिएको छ ।
आज भएको एक घण्टा लामो फोन वार्तामा द्विपक्षीय सहयोग, वाणिज्य, व्यापार, विकास निर्माण लगायतका क्षेत्रमा मिलेर अघि बढ्ने र यसका लागि चीनले सहयोग गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री खड्काले चीनमा पढ्न जाने विद्यार्थी जान नपाएको, चीनबाट नेपालमा सामान कम मात्रामा ढुवानी भइरहेको, नाका सहज बनाउनुपर्ने, चीनसँग नियमित हवाई उडान हुनुपर्ने लगायतका विषय उठाएका थिए ।  सबै विषयमा मिलेर अघि बढ्न सकिने चिनियाँ विदेश मन्त्री वाङको भनाइ थियो ।