परराष्ट्र मन्त्री साउद र इजरायली समकक्षीबीच फोनवार्ता, के भयो कुराकानी ?

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद र इजरायलका विदेश मन्त्री एली कोहेनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार दिउँसो परराष्ट्र मन्त्री साउदले समकक्षी कोहेनसँग कुराकानी गरेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री साउदले इजरायली विदेश मन्त्री कोहेनसँग हमास समूहको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताए।

परराष्ट्र मन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेश मन्त्री कोहेनसँग आग्रह गरेका थिए। मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपालीको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरेका छन्।

सम्पर्कबिहिन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि उनले आग्रह गरेका छन्। इजरायलका अस्पतालमा ४ जना नेपालीको उपचार भइरहेको छ। उनीहरुको उचित स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन समेत उनले आग्रह गरेका छन् । कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यवद्ध रहेको पनि बताए।

इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरुको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गरेका थिए। इजरायल अहिले कठीन मोडमा रहेको उनले बताए। मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने बताएका थिए।