परीक्षा दिने विद्यार्थीेले प्रवेश पत्र देखाएर खोप लगाउन पाउने

फाइलफोटो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन भइरहेको विभिन्न तहको परीक्षामा भाग लिने विद्यार्थीले परीक्षाको प्रवेश पत्र देखाएर खोप लगाउन सक्ने भएका छन् । कोभिड–१९ विरुद्धको खोप विद्यार्थीलाई प्राथमिकताका आधारमा दिने सम्बन्धमा यस्तो निर्णय भएको हो । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय सरकारले गरेको छ ।

विद्यार्थीले काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा खोप लगाउन सक्ने भएका छन् । त्रिविमा स्नातक र स्नातकोत्तर तहको परीक्षा जारी छ । परीक्षामा करिब ६० हजार विद्यार्थी सहभागी छन् । परीक्षा केन्द्रबाट संक्रमण फैलने त्रासले विद्यार्थीहरुमा मानसिक चिन्ता थपिएको भन्दै विद्यार्थी संगठनले विद्यार्थीलाई प्राथमिकताका आधारमा खोप दिन आह्वान गरेका थिए ।