पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकमा कोरोना पुष्टी

वीरगन्ज । पर्सामा आज बिहानै ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसरी कोरोना देखिनो तीन जना नेपाली सेनाका जवान समेत छन् । उनीहरु यसअघि कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको शव व्ववस्थापनमा खटिएका थिए । चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका सिपाहीमा कोरोना भएको हो । नारायणी अस्पतालका अनुसार सैनिकसँगै डाक्टर र पत्रकारमा समेत कोरोना देखिएको छ ।

आज थपिएकामा दुई बालक र चार महिला छन्। संक्रमित हुनेहरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म छ । संक्रमित चार महिलाको उमेर १६, २६, २८ र ४९ छ। सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बसी काम गर्ने २८ वर्षीया महिला डाक्टरमा संक्रमण देखिएको हो । वीरगंज ११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ।

नारायणी अस्पताल वीरगंजको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्ममा परेका २१, २७ वर्षका दुई गरी कूल चारजना स्वास्थ्यकर्मी पनि संक्रमित छन्। एक जना २२ वर्षीय सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका २० वर्षे पुरुष पनि संक्रमित रहेको अस्पतालले जनाएको छ । पर्सा पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनेको छ ।