पश्चिम नेपालमा बाढी र पहिरोको वितण्डा, कम्तिमा १६ जनाको मृत्यु

File

काठमाडौं । पश्चिम नेपालमा बाढी र पहिरोमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ । २० जना वेपत्ता भएका छन् । निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा मुगु, हुम्ला र कालीकोटमा १६ जनाको मत्यु भएको छ । २० बेपत्ता भएका छन् । मुगुको छायानाथरारा नगरपालिका–११ सालिम गाउँमा मात्र ८ जनाको ज्यान गएको छ । हुम्लाको चंखेली–६ देनबाडामा पनि घर पुरिँदा ४ जनाले ज्यान गुमाएका छन् । कालीकोटमा बेपत्ता भएका २३ मध्ये ४ जनाको शव फेला परेको छ ।


पाँच दिनदेखिको भीषण वर्षाका कारण गाउँमाथिबाट ठूलो पहिरो आउँदा सालिम गाउँकी ६१ वर्षीया हाजिरा भग्री, ३० वर्षीया होइजाली भग्री, १६ वर्षीया सुस्मिता भग्री, ४२ वर्षीय वीरबहादुर ऐडी, २४ वर्षीय सत्ता सावत, ३२ वर्षीय कृष्ण सावत, १६ वर्षीय चक्रबीर बोहरा र १३ वर्षीया गौकला बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार बेपत्ता ९ मध्ये सोमबार ८ को शव भेटिएको हो । करिब डेढ दर्जन घर भत्किएको प्रहरीले जनाएको छ । विस्थापितलाई प्रभात माध्यमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।

हुम्लाको चंखेली–६ देनबाडास्थित देउच्या विकको घर पुरिँदा श्रीमतीसहित एक छोरा र दुई छोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार साँझ ७ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया होइजाली विक, ९ वर्षीया छोरी तुल्सी विक, ७ वर्षीया सुस्मिता विक र ५ वर्षीय छोरा वसन्त विकको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लगातार वर्षा र राति घटना भएकाले सोमबार बिहान मात्र प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनामा देउच्या विकसहित ३ जना गम्भीर घाइते भएका छन् । ठाउँ–ठाउँमा पहिरो खस्दा कालीकोटका विभिन्न ठाउँमा बेपत्ता २३ मध्ये सोमबार ४ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता छन् । तिलागुफा–४ राचुलीमा आइतबार दिउँसो मलामी गएका ५२ मध्ये १३ जना बेपत्ता छन् । राचुलीका २२ वर्षीय हेमराज शाहीको मलामी गएकाहरूलाई माथिबाट आएको पहिरोले बगाएको थियो । उनीहरू तिला नदीको किनारामा दागबत्ती दिने क्रममा थिए । घटनामा २ बाँचेका टेकराज शाही र अबराज शाहीलार्ई उपचारका लागि हेलिकोप्टरमा सुर्खेत लगिएको छ ।

यस्तै, आइतबार बिहान साढे १० बजे तिलागुफा–७ बालीमा गएको पहिरोले घर पुरिँदा बेपत्ता ध्रुवराज विष्टका ५ परिवारमध्ये २ छोराको शव फेला परे पनि ३ जना अझै बेपत्ता छन् । त्यस्तै खाडाचक्र–८ सेराबाडामा पहिरोले बगाउँदा सुर्खेतमा कार्यरत प्रहरी जवान पदम रावत, तिलागुफा–६ भैसेकी ८० वर्षीया लालका शाही र तिलागुफा–७ बालीमा अब्दुल बटु बेपत्ता छन् ।

पहिरोमा पुरिएका सान्नीत्रिवेणी–८ का १६ वर्षीय केवल केसी र पचालझरना–७ का ४७ वर्षीय परिलाल बोहराको शव भेटिएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।