पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु

काठमाडौं । मंगलबार पश्चिम नेपालमा गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । बाजुरामा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार गौमुल गाउँपालिका २ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । रोकाय बारीमा घाँस काट्दै थिइन्। त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको मृत्यु भएको हो। गौमुल गाउँपालिका १ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएको समेत समाचारमा उल्लेख छ ।

मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा सुदूरपश्चिमका विभिन्न जिल्लामा भौतिक क्षति भएको छ। बाजुरा, बझाङ, अछामलगायत जिल्लामा केही घर भत्किएका छन् भने दर्जनौं घर चर्किएका छन्।


बाजुराकै बुढीगंगा नगरपालिका, बडीमालिका नगरपालिका, हिमाली गाउँपालिकामा दर्जनौं घर चर्किएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। बझाङका जयपृथ्वी नगरपालिका, सुर्मा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिका केही घरहरूमा आंशिक क्षति भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।