काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाएको छ । घटनामा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गतराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिएका छन् ।
उनका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् । घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी छन् ।
उनीहरुलाई राति नै उद्धार गरी नगर अस्पताल पठाइएको थियो । प्रहरी टोलीका अनुसार आठबिसकोट नगरपालिका वडा नम्बर १२ को भिमचौरमा गिजा खोलाको बाढीले ६ वटा घर र खेतबारी बगाएको छ । घटनास्थलमा प्रहरी र नेपाली सेना उद्दारमा खटिएको छ ।