काठमाडौं । संसारमा कोरोना विरुद्धको खोप लगाउने बेलायत पहिलो मुलुक हो । तर, कोरोना भाइरसको नयाँ स्वरुपको संक्रमण तिब्र बन्दै दैनिक ५० हजार माथि संक्रमण पुष्टी भएको छ । यससँगै प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका छन् । नयाँ खाले कोरोनाभाइरसको संक्रमण रोक्न यस्तो कदम चाल्न बाध्य भएको उनले सोमबार गरेको टेलिभिजन अन्तर्वार्तामा उल्लेख गरेका छन् । उनका अनुसार पछिल्लो समय बेलायतमा कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेका छन् ।
यसबाट स्वास्थ्य प्रणाली नै समस्यामा नपरोस् भनी लकडाउन गर्नु परेको हो । बेलायतमा अक्सफोर्ड र अष्ट्राजेन्काले बनाएको कोरोनाविरुद्धको खोप समेत लगाउन सुरू भएको छ । तर, नयाँ भाइरस उत्पन्न भएपछि चिकित्सक तथा वैज्ञानिकहरु समेत हैरानीमा देखिएका छन् ।
बेलायतका अस्पतालमा महामारी सुरू भएदेखिकै सबैभन्दा बढी दबाब रहेको प्रधानमन्त्री जोन्सनले उल्लेख गरेका छन् । देशका धेरै भागमा विभिन्न कडा मापदण्ड अपनाइएको र नयाँ खाले भाइरसलाई नियन्त्रणमा ल्याउन अझै मिहेनत गर्नुपर्ने देखिएको उनको भनाई छ ।
लकडाउन मंगलबारदेखि शुरु भएको छ । यो कम्तिमा फेब्रुअरी १५ सम्म लागु हुने भएको छ । लकडाउन भएका बेला मेडिकल र अत्यावश्यक कामबाहेक घरबाहिर जान निषेध गरिएको छ । सोमबार बेलायतमा ५८ हजार ७ सय ८६ जनामा कोरोना पुष्टि भएको छ । एकै दिन ४ सय ७ जनाको मृत्यु भएको छ ।