पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ । अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । उनी आमचुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ ।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ई–इन्साफ (पीटीआई) ले विशेष अदालतलको फैसलालाई लिएर उच्च अदालतमा अपिल गर्ने बताएको छ । इमरान खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ढाल्ने अमेरिकी षड्यन्त्र भएको दाबी गरेका छन् । विश्वासको मत पाउन नसकेपछि उनी सन् २०२२ मा पदबाट हट्नुपरेको थियो ।