काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एउटा विरोध जुलुसका क्रममा गोली प्रहार भएको छ । उनी घाइते भएको र अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्। उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन।
तर उनका एकजना सहयोगीले उनी खतरामा नरहेको बताएका छन्। सत्तरी वर्षीय खान चुनावको माग गर्दै विरोध र्यालीमा सहभागी भइरहेका थिए। पूर्वप्रधानमन्त्री खानमाथि गरिएको गोली प्रहारको घटनाको प्रधानमन्त्री शहबाज शरिफले निन्दा गरेका छन्। प्रधानमन्त्रीले गृहमन्त्रीलाई घटनाबारे तत्काल रिपोर्ट पेस गर्न निर्देशन समेत दिएका छन्। पाकिस्तानको जीओ टेलिभिजनका अनुसार एक सन्दिग्ध पुरुषलाई पक्राउ गरिएको छ।
खानलाई उपचारका लागि लाहोरको अस्पतालमा लगिएको देखिएको छ। पार्टीका एकजना प्रवक्ताले उनलाई पिडौँलामा चोट लागेको बताए। पार्टीकी नेत्री तथा प्रादेशिक स्वास्थ्यमन्त्री यास्मीन रशिदले खानको अवस्था स्थिर रहेको जानकारी दिइन्।