पञ्जाव । पाकिस्तानको पन्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबसमा आगो सल्केको थियो ।
फैसलावाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए । दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह सहर कराँचीबाट सङ्घीय राजधानी इस्लामवादतर्फ गइरहेको थियो । दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् ।
अघिल्लो साता पन्जाब प्रान्तमा भएका दुई हजार आठ सय ९३ वटा शृङ्खलाबद्ध सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिए भने तीन हजार एक सय ११ जना घाइते भएका थिए । आपत्कालीन सेवा विभागका अनुसार ९९ जनाको टाउको गम्भीर चोट लागेको, एक सय ८७ जनाका शरीरका विभिन्न भाग भाँच्चिएका, आठ सय ५० जना घाइते अस्पताल भर्ना भएका थिए ।