पाटनमा ढल खन्दा भेटिएको अंशुबर्माको शासनकालको शिलालेखमा के लेखिएको छ ?

ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रमा लिच्छविकालीन अभिलेख फेला परेको छ । मंगलबजारमा ढलको खाडल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको हो । यो शिलालेख अंशुवर्माको शासनकालको भएको पुष्टी लिपिविज्ञहरुले गरेका छन् । यसअघि गोकर्णमा समेत यस्तै शिलालेख भेटिएको थियो । दुबै एकै वर्ष गाडिएको समेत पुष्टी भएको छ । लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार २०७८ भदौ २९ मा ढल खन्ने क्रममै गोकर्णमा पूर्वमध्यकालको शिलालेख भेटिएको हो ।

मंगलबजारमा भने पुस ५ गते जमिनको गर्भभित्र उक्त अभिलेख भेटिएको हो । सिमेन्ट लागेर सहजै पढ्न नसकिएको अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको छ । यसमा कुल १५ पंक्ति छन् । अभिलेखको दायाँबायाँ श्रावक मृग र बीचमा धर्मचक्र कुँदिएको छ । अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ ।

अभिलेखमा महासामन्त अंशुवर्माको नाम उल्लेख छ । यसमा योग्रङ्ग्राम र अन्तिम पंक्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांक लेखिएको छ । अभिलेख अनुसार राजा वृषदेवले त्यहाँ विहार बनाएको जानकारी गराउन अंशुबर्माले यो शिलालेख कुँदाएको अनुमान छ ।