पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप आजबाट लगाइदै

काठमाडौं । सरकारले बुधबारबाट पाठेघर मुखको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप लगाउन सुरु गर्दैछ । परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार १४ वर्ष पुगि १५ वर्ष ननाघेका साढे नौ हजार किशोरीलाई लक्षित गरी एचपीभी खोप डेमोस्ट्रेसनका रुपमा सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिएर कार्यक्रम सुरु गर्ने जनाएको छ । 

कार्यक्रममा २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्मिएका किशोरीहरुलाई मात्र खोप दिने डा.गौतमले जानकारी दिए ।

खोप लगाउन उमेर खुलाउने आधिकारिक प्रमाण पत्र वा वा जन्म मिति खुलाउने अन्य कागजात र दोस्रो मात्राको हकमा खोप कार्ड पहिलो मात्रा लगाउदा प्राप्त हुने कार्ड लैजान उहाँको आग्ह छ । दोस्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाट लगाउन डा.गौतमको आग्रह छ ।

सरकारले राष्ट्रिय खोप कार्यक्रम एचपीभी खोपको सातै प्रदेशबाट डेमोस्ट्रेसनका रुपमा सञ्चालन गरेको हो ।  खोप उपलब्धका आधारमा कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल प्रादेशिक अस्पताल सुर्खेत, डडेल्धुरा अस्पतालमा खोप  कार्यक्रम सञ्चालन गर्दै छ ।

विश्व स्वास्थ्य संगठनले सुरुवाती चरणमा नौदेखि १५ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीलाई अनिवार्य खोप लगाउन सुझाव दिएको थियो । सोही सुझाव सोरुप नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट कसैको पनि अकाल्कै मृत्यु नहोस् भन्ने उद्देश्यले ह्युमन पापिलोमा भाइरसविरुद्धको खोप नौदेखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क रुपमा सञ्चालन गर्ने घोषण गरेको हो । 

यो कार्यक्रमका लागि सरकारले चीनबाट २० हजार भाइल एचपीभी खोप खरिद गरेर ल्याएको छ । हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ ।