पाल्पामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

पाल्पा । पाल्पामा बिहीबार राति बस दुर्घटनामा पर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुसार्ने गाउँका भएको प्रहरीले जनाएको छ । मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका रैनादेवी छहरा गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जनाएका छन् ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा गएराति साढे ९ बजेतिर दुर्घटनामा परेको हो । ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले बताएका छन् । दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका धनी र सहचालक फरार छन् ।