काठमाडौं (बीबीसी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू सार्वजनिक गरेका छन् ।
बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्। एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग बीबीसीले कुराकानी गरेको थियो । पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन समूहमा कालिन पनि थिए। उनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्।
कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन। तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन्। पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेको जस्तो देखाउने खालका छन्। युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस्।
युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ। यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए। तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ।
नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ। दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने हुन्छ। जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।