काठमाडौं । काठमाडौंमा पुनः फोहोर उठ्न छाडेको छ । यसले सडकमा डंगुर बढेको छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याउन र त्यसो नगरे कारावाही गर्ने चेतावनी दिएको थियो । तर, महानगर आफैले फोहोर उठाउन नसक्दा फोहर सडकमा थुप्रिएको हो । बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापन नगरेपछि सडकमा फोहर थुप्रिएको हो ।
अहिले कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत ठाउँका सडकमा लामो समयदेखिको फोहर उठ्न सकेको छैन । महागरपालिकाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविकबमोजिम फोहर व्यवस्थापन हुन नससकेको बताउँदै आएको छ । साउन ४ मा महानगरपालिकाले सूचना निकाल्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक साता घर बाहिर फोहर ननिकाल्न भनेको थियो ।
एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै गाडी चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाले जनाएको छ । उता, बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आउँदो भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिइसकेका छन् ।