पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक विघटन गरेपछि सर्वोच्च अदालतबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने गरि बोलाइएको छ । यो बैठकमा अब नेकपा एमाले प्रमुख प्रतिपक्षी र अन्य दल सत्तापक्षका रुपमा रहँदैछन् ।

ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासबाट असार २८ मा परमादेश आएको थियो । परमादेशबाट ओलीको पदसमेत गुमेको छ । संघीय संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लैजाने कार्यक्रम छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश ल्याएको थियो ।

बजेट अध्यादेशसमेत यसमा समावेश छन् । यो अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुपर्नेछ । संविधानतः उनले नियुक्त भएका एक महिना भित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । यहाँ उनले विश्वासको मत नपाएमा भने संसद विघटन गर्न सक्ने अधिकार सरकारसँग हुन्छ । यो अवस्थामा मुुलुक निर्वाचनमा जान सक्छ ।