काठमाडौं । पूर्वप्रधानमन्त्रीद्धय डा. बाबुराम भट्टराई र माधव कुमार नेपालविरुद्ध बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विवाद प्रकरणमा मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने निर्णय भएका कारण पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै रिट दायर गरिएको हो ।
मन्त्रीपरिषद्को निर्णयमा अख्तियारले हेर्न नमिल्ने भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीलाई भने यस काण्डमा मुद्दा दायर गरेको थिएन ।
तर, सोही मन्त्रिपरिषद्ले गरेको निर्णयमा मन्त्री र सचिवहरु भने फसिएका छन् ।
बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट हालेका छन् ।
अख्तियारले नीतिगत निर्णय गरेको भन्दै उनीहरूलाई उन्मुक्ति दिएको छ।
सर्वोच्चले उक्त रिटको पेशी शुक्रबारका लागि तोकिसकेको छ ।
ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालिन तीन मन्त्री र तीन सचिवलाई मुद्दा चलाइएको छ । तर, प्रधानमन्त्रीहरु भने उम्कन सफल भएका हुन् ।