काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि आज भारत प्रस्थान गर्ने भएका छन् । उनी नेपाल एयरलाइन्सको जहाजबाट पत्नी हिसिला यमीको साथमा भारत जान लागेको उनको सचिवालयले जनाएको छ ।
भट्टराई पेटको समस्याको उपचारमा चिकित्सकको सल्लाहअनुसार भारत जान लागेको बताइएको छ । भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकले गरेका छन् ।
दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उनको उपचार हुनेछ । दिल्लीमा उनी नेपाली दूतावासमा बस्ने भएका छन् । यसैबीच भारतमा उपचारका लागि गएका अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने शनिबार काठमाडौं फिर्ता भएका छन् ।