काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । बिहीबार गरिएको अभिनन्दनमा पूर्वराजा ज्ञानेन्द्र शाह सहित पूर्वरानी कोमल राज्य लक्ष्मी र छोरी प्रेरणा समेत सहभागी भए । अभिनन्दनअघि विभिन्न ठाउँबाट सहभागी नागरिक तथा विभिन्न संघसंस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका थिए । नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनताले पूर्वराजालाई मुलुकको अभिभावकको रुपमा चाहेको बताए ।
पूर्व सांसद गंगा चौधरीले दलहरु भ्रष्टाचारमा लिप्त भएकाले राजतन्त्रको पक्षमा जनसमर्थन बढेको दाबी गरिन् । कार्यक्रममा ‘राजा आउ देश बचाउ’ लगायतको नारा लगाइएको थियो ।
कार्यक्रममा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको तर्फबाट स्वागत मन्तव्य राख्दै पूर्वमन्त्री निरन्जन थापाले मुलुकमा दलीय व्यवस्था असफल भएको आरोप लगाउँदै राजसंस्था पुनर्स्थापना गरी देशको नेतृत्व लिन आग्रह गरेका थिए । पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेका हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर धार्मिक तथा व्यक्तिगत भेटघाटलाई तीव्रता दिएका छन् ।