पूर्वी नेपालमा बाढी पहिरोमा वेपत्ता २८ जनाको खोजी जारी

काठमाडौं । सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा शनिवार रातिको बाढीपहिरोमा बेपत्ता हुनेहरुको खोजी कार्य आज पनि जारी छ । बेपत्ताको खोजी भैरहेको प्रहरीले बताएको छ । बाढीपहिरोमा परेर सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा ४ जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता भएका छन् । अरु चार जना घाइते छन् । पाँचथरमा दुई तथा सङ्खुवासभा र ताप्लेजुङमा एक–एक जनाको ज्यान गएको छ । धनकुटाको छथर जोरपाटीमा तमोर नदी किनारमा हिजो बेलुकी एक महिलाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सङ्खुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन् । यी जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुल र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । कोशीका विभिन्न जिल्लामा २० घर बगाएको र आठ घरमा आंशिक क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सङ्खुवासभामा १० घर बाढीपहिरोले बगाएको र आठ घरमा आंशिक क्षति पुगेको छ । पाँचथरमा १० घर बगाएको छ । पाँचथरका ३१ घरपरिवार विस्थापित भएका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका– ४ र चैनपुर नगरपालिका– ९ को बीचमा पर्ने हेवाखोलाको बाढीले बढी क्षति पुर्याएको छ । बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीसमेत खोज, उद्धार र राहतको काममा सक्रियताका साथ लागेको सरकारले जनाएको छ ।