पेरिस ओलम्पिक : प्रिन्स विश्व नं २ सँग सोझो सेटमा पराजित

काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित गरे।

कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए। प्रिन्सको समूहमा उनी र भिक्टरसहित ४ खेलाडी छन्। प्रिन्सले जुलाइ २९ तारिखमा आयरल्यान्डका हात गुयेन तथा जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् । विश्व वरीयतामा हात ४३ औं तथा मिसा ५८ औं स्थानमा छन्।

नेपालमा भएको १३ औं सागमा २ कांस्य पदक जितेका राष्ट्रिय च्याम्पियन प्रिन्स पूर्व जुनियर विश्व नम्बर वान खेलाडी हुन्। २ पटकका ओलम्पिक च्याम्पियन, ५ पटकका विश्व च्याम्पियन तथा ६ पटकका अल इङल्यान्ड च्याम्पियन चीनका लिन डानलाई आफ्नो ‘हिरो’ मान्ने बायाँ हाते प्रिन्सले ७ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका थिए। प्रिन्सको लक्ष्य सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा पदक जित्नु हो।

जापानमा १९६४ मा भएको टोकियो ओलम्पिकमा नेपालले पहिलो पटक सहभागिता जनाउन सुरू गरेएता ब्याडमिन्टनमा नेपालले पहिलो पटक भाग लिएको हो। प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका थिए । प्रिन्सलाई अलसाबाडरका प्रशिक्षकले प्रशिक्षकको रुपमा सहयोग गरिरहेका छन्।