पैसा सापटी नदिएको झोकमा वृद्ध दाजु-बहिनीको विभत्स हत्या

खोटाङ । मानिसले पैसाका लागि के सम्म गर्न सक्ला ? त्यो पनि कति रुपैयाँका लागि ? नेपालमा एक व्यक्तिले मात्र १ हजार रुपैयाँ सापटी नदिएको झोँकमा आफ्नो हजुरबुबा उमेरका वृद्धवृद्धाको हत्या गरेको खुलेको छ । खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा दुई वृद्धवृद्धाको विभत्स हत्या भएको अवस्थामा अघिल्लो साता शव घरमै फेला परेको थियो ।

जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालय खोटाङले एक अभियुक्तलाई मंगलबार सार्वजनिक गरेको छ। हत्या अभियोगमा पक्राउ परेका सोही स्थानका ३३ वर्षीय दुर्गा भनेर चिनिने दुर्गाबहादुर राईलाई प्रहरीले सार्वजनिक गरेको हो।

श्रेष्ठ दाजुबहिनीको हत्या भएको तीन दिनपछि मात्र स्थानीयले पत्ता पाएका थिए । त्यसपछि प्रहरीलाई खबर पुगेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । प्रहरीले अभियुक्त राईलाई २० भदौमा पक्राउ गरेको हो । उनलाई भदौ २१ मा जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएको थियो ।

पक्राउ परेका राईले एक हजार रुपैयाँ पैसा सापटी माग्दा नदिएपछि मदिरा सेवन गरी घरबाटै खुकुरी लगेर हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन् । प्रहरीका अनुसार राइले दिउँसोमा उनीहरुको काम समेत गर्ने गरेका थिए ।

उनको साथबाट १ हजार रुपैयाँ, पैसा राख्ने गोपिमायाको थैलीसमेत बरामद भएको छ । इन्द्रबहादुर अविवाहित रहेको र अपांगता भएकाले उनको हेरचाहका लागि बहिनी समेत माइतीमै बस्ने गरेको स्थानीयले जनाएका छन् ।