पोखरा । पोखरा महानगरपालिका–१७, ड्यामसाइटमा घर भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा हानेको छ । नेपाली नागरिक ककनी, नुवाकोटका सुमन तामाङको नाममा दर्ता रहेको डायमन्ड टेक्नोलोजी नामक कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीले जानकारी गराएको छ । उनीहरुले पोखरामा पूरै घर भाडामा लिएर कार्यालय चलाएका थिए । ७५ नेपाली युवालाई रोजगारी दिने प्रलोभनमा चिनियाँ नागरिकले त्यहाँ भेला गराएका थिए ।
उनीहरुले त्यहाँ के गरिरहेका थिए भन्ने विषयमा भने विस्तृतमा खुलेके छैन । प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन चिनियाँ र एक नेपाली छन् । दुई चिनियाँको कागजपत्र नभेटिएका कारण अध्यागमन कानून अनुसार पनि उनीहरु दोषि देखिएकोप्रहरीले बताएको छ । कार्यालयबाट ४७ लाख ९७ हजार रुपैयाँ पनि बरामद भएको छ । यो रकमको स्रोत खुलेको छैन । नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरी समक्ष पुगेको बताइएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाको आधारमा प्रहरीले ७ पुस २०७७ मा अपरेशन चलाएर काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो । त्यतिवेला दिइएको सूचनामा काठमाडौं बाहेक पोखरा, विराटनगर, चितवनसहितका शहरमा गरी करिब ४ हजार चिनियाँ नागरिकले नेपालमा बसेर चीनविरुद्ध अवैध गतिविधि गरिरहेको भनिएको थियो ।