पोखरामा दुर्घटनामा परेको जहाजको फ्लाइट रेकर्डर सिंगापुर लगियो

काठमाडौं । पोखरामा १ माघमा दुर्घटनामा परेको यति एयरलाइन्सको एटीआर–७२ विमानको फलाइट रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) सिंगापुर लगिएको छ । साथमा दुर्घटना जाँच आयोगका तीन पदाधिकारी समेत शुक्रबार सिंगापुर प्रस्थान गरेका छन् । एफडीआर र सीभीआर अध्ययन गर्न आयोगका अध्यक्ष पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे, सदस्य इन्जिनियर दिपक बास्तोला र सदस्यसचिव बुद्धिसागर लामिछाने सिंगापुर लागेका हुन् । उनीहरु एक साता सिंगापुरमा रहने छन् ।

आयोगको टोलीले त्यहाँको यातायात मन्त्रालय मातहतको ‘ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो’(टीएसआईबी)मा यतिको जहाजबाट निकालिएका एफडीआर र सीभीआरका डाटा डाउनलोड, डिकोट तथा विश्लेषण गर्ने छन् । सीभीआरमा चालक दलले आपसमा गरेको कुराकानी तथा काठमाडौं र पोखरा विमानस्थलका टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलरसँग गरेको संवाद हुन्छ । एफडीआरबाट प्राप्त जहाजका अन्य प्राविधिक जानकारी हुन्छन् ।

यी दुई उपकरणबाट प्राप्त हुने जानकारीबाट दुर्घटनाको कारण पहिचान गर्न सकिने बताइएको छ । जाँचमा दुर्घटनामा मृत्यु भएका नागरिकका मुलुकले तोकेका प्रतिनिधि सिंगापुरमा हुनेछन् । यो जाँचमा वायुयान संचालक, वायुयान निर्मातालगायत भने सहभागी हुादैनन् । गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावलीका अनुसार, यस्ता दुर्घटनामा जाँच तथा अध्ययनको खर्च नेपाल सरकारले ब्यहोर्नु पर्छ । दुर्घटनामा चालक दलका चार सदस्यसहित ७२ जनाको घटनास्थलमै निधन भएको थियो ।