पोखरामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा दिन महानगरको आह्वान

file

पोखरा । काठमाडौंमा जस्तै पोखरा महानगरपालिकामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन महानगरपालिकाले आह्वान गरेको छ । पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो। महानगरले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा आवेदन दिन आग्रह गरेको छ ।

सार्वजनिक रूपमा निःशुल्क उपयोग गर्न दिए वापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरेको महानगरले जानकारी दिएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालका अनुसार सहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैर व्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग सूचना आह्वान गरिएको हो।

सार्वजनिक शौचालयका बारेमा सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचान युक्त लोगो वा सङ्केत राख्ने गरी कार्यपालिका बैठकबाट निर्णय भएको छ । पोखराका मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई असहज हुँदै आएको छ।