काठमाडौं । निर्वाचन अगाडी कम आँकेको एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौडा उपमहानगरपालिकाबाट आफु अब्बल रहेको सन्देश दिएको छ । पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७५२ पुर्याएका छन् । कुल २८ हजार १६० मत गन्दा आचार्यले ११ हजार ८१२ र एमाले उम्मेदवार कृष्ण थापाले १० हजार ६२ मत पाएका छन् ।
मेयर पदका राप्रपा उम्मेदवार शंकर प्रसाद खरलले १२७१ मत पाएका छन् । यहाँ उपमेयरमा नेपाली कांग्रेसकी उम्मेद्वार कोपिला रानाभाटले एमाले उम्मेदवार मञ्जुदेवी गुरुङसँगको मतान्तर ६४७ पुर्याएकी छन् । रानाभाटले १२ हजार १३० र एमालेकी मञ्जुदेवी गुरुङले ११ हजार ४८३ मत पाएकी छन् ।
पोखरामा नेकपा एकीकृत समाजवादीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साथ दिएका हुन् ।
उता, हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले अग्रता लिएकी छन् । कुल २७ हजार ७५४ मत गणना हुँदा लामाले ५५ मत अगाडी छिन् । उनलाई राप्रपाका उम्मेरवार दीपकबहादुर सिंहले पच्छ्याइरहेका छन् । यहाँ एमाले तेस्रो स्थानमा झरेको छ ।
लामाले ८ हजार ८४५ मत प्राप्त गर्दा सिंहले ८ हजार ६९० मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ एमालेकी सुमित्रा काफ्लेभन्दा ३ हजार ६७८ मतले अगाडि छन् । राजेशले ११ हजार ७११ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले ८ हजार ३३ मत पाएकी छन् ।