पोर्चुगलको पुनरागमन जितले टार्यो हार, रोनाल्डोले राखे कीर्तिमान

काठमाडौं । फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले युरो २०२४ को पहिलो खेलमा चेक रिपब्लिक विरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । लाइपजिग स्थित रेडबुल एरेनामा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगतार छैटौं संस्करण युरो खेल्दै कीर्तिमान बनाउँदा पोर्चुगलले विजयी सुरुआत गर्‍यो । सन् २०१६ को च्याम्पियन विजेता पोर्चुगलले फेरि उपाधि जित्ने लक्ष्यमा छ ।

खेलमा अग्रता भने चेकले पहिले लिएको थियो । ६२औं मिनेटमा लुकास प्रोभोडले गोल गर्दै चेक रिपब्लिकलाई पहिले अग्रता दिलाएका थिए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन । चेक रिपब्लिकका रोविन ह्रानाकले ६९औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । पोर्चुगलका नुनो मेन्डेजको हेडर बल क्लियर रग्ने क्रममा रोविनले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि पोर्गुचलका डिएगो जोटाले गोल गरेपछि अफसाइड भएको थियो । तर फ्रान्सिस्को कोन्सेइकाओले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाए । यस जितले रोनाल्डोको लगातार छैटौं युरोमा पनि राम्रो सुरुवात भएको छ ।