पोर्चुगलमा कोरोना नियन्त्रण भित्र, कसरी प्राप्त भयो सफलता ?

काठमाडौं, एजेन्सी । ससारभर कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा पोर्चुगलमा भने नियन्त्रणउन्मुख देखिएको छ । सोमबार यहाँ कोरोनाबाट एक जना पनि मानिसले ज्यान गुमाउनु परेन, यो यूरोप भरीकै सबैभन्दा सुखदः समाचार हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पोर्चुगलमा महामारी सुरु भएयता दोस्रोपटक कोभिडबाट एकदिनमा शून्य मृत्यु भएको आँकडा सोमवार आएको हो ।

बीबीसीले लेखे अनुसार जनवरी महिनाको अन्त्यतिर पोर्चुगलमा विश्वकै सबभन्दा उच्च दरको सङ्क्रमण तथा मृत्यु रेकर्ड भएको थियो । त्यहाँको सरकारले कडा र लामो समयको लकडाउनलाई निरन्तरता दियो । यसको प्रभाव अब कोरोना नियन्त्रणतर्फ देखिएको छ ।

संचारमाध्यमहरुका अनुसार त्यहाँ सङ्क्रमण दर उच्चस्तरमा पुगेको बेलाभन्दा अहिले असी भागको एक भागमा झरेको छ। पोर्चुगल यूरोपभरकै सबैभन्दा सुरक्षित मुलुक बन्न सफल भएको छ । यससँगै त्यहाँ लकडाउन विस्तारै खुकुलो पार्न थालिएको बताइएको छ ।

पोर्चुगलमा हालसम्म कोभिडका कारण १६,९६५ जनाको ज्यान गइसकेको छ। कुल संक्रमित भने ८३४,००० रेकर्ड भएको छ । एक त धेरै जनामा कोरोना भइसकेपछि यसले थप क्षति नगर्ने र अर्कोतर्फ खोप अभियान समेत प्रभावकारी भएका कारण पोर्चुगलले पछिल्लो समय कोरोनासँग सजिलै लड्न सकेको बताइएको छ ।