पौने दुई करोड मतदाताको हातमा डेढ लाख उम्मेदवारको भविश्य, आज मतदान

काठमाडौं । स्थानीय तहको ऐतिहासिक दोस्रो निर्वाचन आज देशभर एकै चरणमा हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजे शुरु भएको निर्वाचनमा मतदान गर्ने काम साँझ ७ बजे सम्पन्न हुने छ । त्यसपछि मतपत्र संकलनको काम शुरु गरिने छ । कतिपय स्थानमा शुक्रबार साँझबाटै मतगणना शुरु हुने भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक तयारी गरेको र निर्धक्कसँग निर्वाचनमा भाग लिन आह्वान गरेको छ ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्ने भएका छन् ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक खटिएका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन्। पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा छन्।