प्यूठान । प्युठानमा बेहुली लिएर बेहुवाको घर तर्फ जाँदै गरेको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानले जनाए अनुसार ६ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष छन् । गौमुखी गाउँपालिका ६ लिवाङका ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको छ ।
सोही ठाउँकी ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनामा पाँच जना घाइते भएका छन् । त्यसमा बेहुवा र बेहुली पनि छन् । घाइतेमा नौबहिनी गाउँपालिका ६ की बेहुली २० वर्षीय रिमा जिसी, सोही ठाउँकी २५ वर्षीय साबित्रा जिसी, गौमुखी गाउँपालिका ६ लिवाङका १७ वर्षीय नरेश खड्का, बेहुला २५ वर्षीय दानबहादुर खड्का र २१ वर्षीया हरि बुढामगर छन् ।
घाइतेमध्ये बेहुलाबाहेक सबैको अवस्था चिन्ताजनक रहेको समेत प्रहरीले जानकारी गराएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग१ज ५० ९२ नम्बरको जिप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।