काठमाडौं । प्यूठानमा एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन्। माण्डवी गाउँपालिका–२ रातामाटेका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नो घरभित्रै मृत फेला परेका हुन्। शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि एक जना छिमेकी परियारको दम्पतीलाई बोलाउँदै ढोका ढकढक्याउन गएका थिए। त्यही क्रममा ती छिमेकीले चिहाएर नियाल्दा भित्र परियार दम्पती लडेको अवस्थामा देखेपछि अरूलाई खबर गरेका थिए।
त्यसपछि प्रहरीलाई खबर भएको प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले बताएका छन् । मृतकका शरीर तथा टाउकोमा घाउ चोट देखिएको प्रहरीले बताएको छ। घटना अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाइएको डिएसपी बस्यालले जानकारी दिए। कुकुर घटनास्थल आउन अझै केही समय लाग्ने उनले बताए।