काठमाडौं । आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गर्दै भावुक सदेश प्रकाशित गरेका छन् । दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेको समाचार सोमबार प्रकाशित भएका थिए । उनी अहिले अष्ट्रेलियामा छन् । दूतराजले मंगलबा बिहानै सामाजिक सञ्जालमार्फत यो समाचारको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि ’ आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि बताएका छन् ।
‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ यसलाई रोग भनु या मेरो विशेषता ?’ यही कारणले पनि आफूले आफैंलाई दुस्खी बनाउने गरेको उनको भनाइ छ ।
उनले समाचारपछि आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो गरेका छन् । ‘समाचार पढें असजिलो महसुस भयो, ‘ उनले अघि लेखेका छन्, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो – सानो दुस्खले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू लाई ’ गलत बुझाइका कारण समाचार आएको दाबी दूतराजको छ । र, त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई ?’