प्रचण्डद्धारा चीनमा कृषि विज्ञान प्रतिष्ठानको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गरेका छन् । कृषि, पशुपालन तथा माछा पालनमा नेपाल र चीनबीच सहयोग आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले कृषि अनुसन्धानमा ख्यातिप्राप्त यस संस्थाको भ्रमण गरेका हुन् । मङ्गलबार बिहान चीनको राजधानी शहर पेइचिङ्बाट चाइना एअरमार्फत प्रधानमन्त्री प्रचण्ड चीनको दक्षिणपश्चिममा रहेको देशकै ठूला शहरमध्येको एक छोङछिङ शहर पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरेका थिए । आजै चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् छोङछिङ नगरका पार्टी सचिव युआन चिआचुनले प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चिआचुनले रात्री भोजको आयोजना गरेका छन् । प्रधानमन्त्रीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ चियानचाओले पनि भेटने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डको साथमा परराष्ट्र मन्त्री एनपी साउद, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महिन्द्र राय यादवसहित भ्रमण दलका सदस्यहरु छन् ।