काठमाडौं । २०७४ मंसिर ३ मा छोरा प्रकाश दाहालको निधनमा नराम्रोसँग भक्कानिएका प्रचण्ड पुत्र वियोगलाई भुलाउन अनेक प्रयास गरिरहेका थिए । तर, उनको वियोग थामिनुको साटो अझै बढ्ने क्रममा थियो । छोराको निधनपछि अझ पिडामा डुबेकी प्रचण्ड पत्नी सीता दाहाल त्यसपछि अझ कमजोर बन्दै गइन् । आफूलाईभन्दा बढी प्रेम गर्ने सन्तान गुमाउँदा सुरूमा शोकले ढलेकी सीता पछि निको नहुने जटिल प्रकारको पार्किन्सन्सबाट ग्रस्त भइन्।
बुधबार बिहान सीताको निधनको घोषणा त्यही अस्पतालले गर्यो, जुन अस्पतालमा ६ वर्षअघि उनका छोरा प्रकाश दाहालको निधनको घोषणा भएको थियो। उनको उपचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माले बिहान ८ बजेर ३३ मिनेट जाँदा उनको निधन भएको घोषणा गरे ।
‘उनले भने, ‘उहाँको हेरचाह गर्ने नर्सिङ स्टाफ हुनुहुन्छ। उहाँले अचानक फोन गर्नुभयो। मैले तुरून्तातुरून्तै नर्भिकको इमरजेन्सी टिमलाई खबर गरें। म बालुवाटार पुगें। त्यहाँ अक्सिजनको मात्रा हेर्दै थिएँ। नर्भिकबाट इमरजेन्सीको टोली पनि पुग्यो। हामीले त्यहाँ अक्सिजन, इन्जेक्सन आदि लगाएर, दौडाएर अस्पताल ल्यायौं,’ शर्माले भनेका छन्, ‘यहाँ ल्याउँदा ८ बजेको थियो। उहाँ पहिलेदेखि नै नसासम्बन्धी दीर्घ रोगी हुनुहुन्थ्यो। दिमागको नसा सुक्दै जाने, खुम्चने हुन्छ। सँगसँगै उहाँलाई डायबेटिज, हाइपरटेन्सन, उच्च रक्तचाप पनि थियो।’
२०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीता ८ वर्षकी हुँदा आफ्नो परिवारसँगै चितवनको सुन्दरबस्तीमा बसाइ सरेर गएकी थिइन्। उनले पढ्न पाइनन् । २०२६ साल वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो। विवाह भएपछि सीता प्रचण्डकै राजनीतिक आन्दोलनमा होमिइन् । २०२८ सालदेखि सीता कम्युनिष्ट पार्टीको सदस्य भएर भूमिगत राजनीतिको पृष्ठभूमिमा सक्रिय भइन्। स–साना छोराछोरी र श्रीमानको भूमिगत राजनीति दुबैलाई सन्तुलन गरेर अघि बढ्न स्वाभाविक रूपमै सीतालाई कठिन थियो। तर उनले आमा, श्रीमती र राजनीतिक कार्यकर्ताको रूपमा जे जति भूमिका निर्वाह गरिन्, त्यसमा कुनै खोट छैन।
उनको अभिभावकीय भूमिकाकै कारण अधिकांश माओवादी नेता कार्यकर्ताहरू उनलाई आमा भनेर सम्बोधन गर्छन्। भूमिगतकालमा प्रचण्डका हरेक आरोह(अवरोहमा सँगसँगै रहेकी सीताको जिन्दगी शान्ति प्रक्रिया पछि भने सहज हुन सकेन। २०७० चैतमा जेठी छोरी ज्ञानु केसीको क्यान्सरका कारण निधन भएपछि सीताको राजनीतिक सक्रियता धेरै थिएन। हुन त त्यसअघि पनि उनले पार्टीमा कहिल्यै आफ्नो लागि भाग खोज्ने र सक्रिय हुने चाहना राखिनन्।
प्रचण्डसँग ५४ वर्षसम्म सँगै रहेकी सीता दाहालले यो समय पूर्ण रूपमा प्रचण्डकै सारथीका रूपमा कटाइन्। भीषण संघर्षका बेला अविचलित प्रचण्डको साथमा रहेकी सीता दाहाल प्रचण्ड परिवारले आर्थिक अवस्थिति सुधारेपछि र चमकधमक पूर्ण जिन्दगी बिताउने बेलामा पारिवारिक शोकका कारण उठ्न सकिनन्।
तीन छोरी र एक छोराकी आमा सीता २०७४ मा छोरा प्रकाशको निधन भएपछि त झन् थला नै परिन्। उनको बिग्रँदै गएको स्वास्थ्यका कारण हुनसक्छ, प्रचण्डले आफू पुग्ने ठाउँमा सम्भव भएसम्म सीतालाई लिएर नै जाने गर्थे। कार्यक्रमहरूका मञ्चमा बसेकै बेला सीता दाहाल सम्हालिन नसकेर रोइरहेको तस्बिर र भिडिओहरू बारम्बार आइरहन्थे। सीता दाहाललाई सन्तान वियोगको पीडाबाट माथि उठाउन हो सायद, प्रचण्ड उनलाई बेला बेलामा विभिन्न ठाउँमा लिएर जान्थे।
तर सीता उठ्न सकिनन्। गम्भीर खालको पार्किन्सन्सले झन् झन् गलाउँदै लगेपछि तीन वर्षयता उनी ओछ्यानमै थला परेकी थिइन्। छोरीहरू रेणु र गंगा उनलाई विशेष हेरचाह गर्दै आएका थिए। सिंगो पार्टी पंक्तिले अभिभावकका रूपमा व्याख्या गर्ने, कुनै पनि विवादमा नमुछिएकी सीता दाहालको आफ्ना श्रीमान प्रचण्ड तेस्रो पटक मुलुकको प्रधानमन्त्री भइरहँदा बुधबार निधन भएको छ। आफ्ना दुई सन्तानको वियोग थेगिसकेका प्रधानमन्त्री प्रचण्ड पत्नी वियोगमा परेका छन्।