प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज बेइजिङमा भेटवार्ता हुने भएको छ । स्थानीय समय अनुसार बिहान १० बजे (नेपाली समय अनुसार बिहान ८ बजे) हुने भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल हुने बताइएको छ ।

छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीले हस्ताक्षर गर्नेछन् । चिनियाँ राष्ट्रपति सी जिनफिङसँग हाङजाउ सहरमा भएको भेटमा भएको कुराकानीका आधारमा सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका हुन् ।

चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने, चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर ३० मा नेपाल फर्कने छन् ।