प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आइतबार भेट हुने, यस्तो छ भ्रमण तालीका

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् । उनले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने निश्चित भएको छ । प्रचण्डले आइतबार भाजपा मुख्यालय भ्रमण गर्ने र भाजपा अध्यक्ष जे पी नड्डासँगको भेटघाट र भाजपा अध्यक्ष द्वारा आयोजित दिवाभोजमा सहभागी हुने तय भएको छ । शनिबार उनले भारतीय विदेश मन्त्री डा. एस जयशंकर भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव विनय मोहन क्वात्रासँग छुट्टा छुट्टै भेट्ने तय भएको छ ।

प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत डा शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले, भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्कका सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका छन् ।भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले होटल ताज मानसिंहमा प्रचण्डसँग शुक्रबार नै शिष्टाचार भेट गर्ने छन् । प्रचण्ड शुक्रबार नेपाली राजदूत द्वारा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । उनी आइतबार नै काठमाडौं फिर्ता हुनेछन् ।