प्रतिकुल बन्दै मौसम, आज धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । बुधबार र बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज वर्षा क्षणिक र हल्का खालको हुने छ । बादल लागेर धुम्म हुने अवस्था भने निरन्तर रहने छ । जसका कारण प्रदूषण पनि कायमै रहने छ ।

भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण अहिले काठमाडौं उपत्यका सहितका भूभागमा हल्का वर्षा भएको छ । मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने छ । अहिले प्रिमनसुन अवधि जारी छ । मार्च १ देखि मे महिनाको अन्तिमसम्मको अवधिलाई प्रिमनसुन अवधि भनिन्छ । यो अवधिमा हावाहुरी चल्नुका साथै मेघ गर्जन र चट्याङ पर्ने सम्भावना हुन्छ ।