काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार्न नसकिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको प्रर्दशनपछि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अोलीलाई सम्झाई–बुझाई गर्दा पनि उनको प्रवृत्तिलाई ठिक गर्न सकिएको बताएका छन् ।
‘सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको थियो । हामीले त्यसका विरुद्ध बहस गरेका थियौ । आज के भन्न चाहन्छु भने हामीले यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं । केपीलाई सम्झाई–बुझाई गरेर उदारतापूर्व उहाँका कतिपय कुरा मान्दा देश अगाडि जाने हो कि भनेर सोच्यौं । त्यो तरिकाले केपी ओली प्रवृत्तिलाई ठिक गर्न सकिने रहेनछ’, उनले भने ।
उनले जनयुद्ध र जनआन्दोलनमार्फत गौरवपूर्ण परिवर्तन हासिल गरेको बताउँदै राजा महाराजाको श्रीपेच झिकेर लात्तले हान्न सके पनि देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुुरा गर्न नसकेको बताएका छन् ।
‘हामीले जनयुद्ध र जनआन्दोलनमार्फत गौरवपूर्ण परिवर्तन हासिल गरेका थियौं । राजा महाराजाको श्रीपेच झिकेर लात्तले हान्न सक्छन् भन्ने प्रमाणित गरेका थियौं । तर देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुुरा गर्न सकेनौं,’ उनले भने, ‘सुरुदेखि केपीको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपथ्र्यो, सकिएन । म आज आत्मालोचित हुन चाहन्छु । तर हाम्रो कमजोरीलाई, उदारतालाई कमजोरी ठान्ने जुन दुस्साहस उनले गरे, त्यसले हामी तपाईहरुको अगाडि आउन वाध्य भयौं ।’
उनले प्रधानमन्त्री अोलीले गरेको संसद विघटनका विरुद्धमा जनता जागेको बताएका छन् । उनले प्रतिगमनविरुद्ध सबै जनता खडा भइसकेको बताए ।
‘संसद विघटनविरुद्ध अब जनता जागिसके, सुत्नेवाला छैनन् । प्रतिगमनविरूद्ध सबै जनता खडा भइसकेका छन्,’ उनले भने ।