काठमाडौं । ४ मंसिरमा भएको निर्वाचनयता ३ दिन भित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले बताएको थियो । तर, आज १० औं दिन सम्पन्न भइसक्दा समेत पुरै नतिजा आएको छैन । प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ ।
सुनसरी ४ मा मतगणना जारी छ । यहाँ नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अगाडी छन् । कार्कीले २५ हजार ९ सय ४४ र उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मत पाएका छन् । तर, दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै शुरु भएको छैन । यसमध्ये कतिपय स्थानमा पुनः मतदान नै गर्नुपर्ने भएको छ ।
मतगणना सकिएका १ सय ६१ ठाउँमध्ये कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७÷७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एकएक ठाउँमा जितेका छन् ।