प्रतिनिधिसभा र प्रदेश दुबै चुनावमा कांग्रेसले गठबन्धनसँग तालमेल गर्ने

Gorakhapatra

काठमाडौं । अन्ततः आगामी संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलबीच तालमेल गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने निर्णय गरेको हो । छैठौं दिनसम्म चलेको बैठकका निर्णयहरू सोमबार सार्वजनिक गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमतको लक्ष्यका साथ गठबन्धन दलहरुसँग संवाद गर्दै चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएको उनले जानकारी गराए ।

संविधानको कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरण, न्यूनतम साझा धारणा निर्माण गर्दै जनताको जीवनस्तरमा गुणात्मक विकास हुनुपर्ने, कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको उनले उल्लेख गरे । बैठकले स्थानीय निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा गठबन्धनसहित भाग लिएको र त्यसको परिणाम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । कांग्रेसले स्थानीय निर्वाचनमा सञ्चालन गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान आगामी निर्वाचन अघि आगामी भदौ २ देखि २४ गतेसम्म पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्य समितिको बैठकमा पार्टी विधान २०१७ संशोधनसहित प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले ताके अनुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गर्ने निर्णय गरिएको छ । यसैगरी, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र श्यामकुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय गरिएको छ । भ्रातृ तथा शुभेच्छुक सङ्गठन सम्बन्धमा पार्टीको विधान बमोजिम आदिवासी जनजाति संघ, थारू र खेलकुद संघलाई मान्यता प्रदान गरिएको छ ।