‘प्रदुषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसले गुमाउँछन् ज्यान’

काठमाडौं । प्रदुषणका कारण विश्वभर वर्षेनी ७० लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । वायु प्रदूषणको अवस्था पहिला सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी समेत संगठनले दिएको छ । बीबीसीका अनुसार वायु प्रदूषण गराउने नाइट्रोजन डाईअक्साइडजस्ता मुख्य तत्त्वको अधिकतम सुरक्षित तह पनि घटाइदिएको संगठनको भनाई छ । डब्ल्यूएचओका अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै ज्यान जान्छ ।

आर्थिक विकासका लागि जीवाश्म इन्धनमा निर्भर हुने भएकाले अल्प र मध्यम आय भएका देशहरू वायु प्रदूषणको सर्वाधिक मारमा पर्ने गरेका समेत डब्यू्एचओको अध्ययनले देखाएको छ । डब्ल्यूएचओले वायु प्रदूषणलाई धूमपान र अस्वस्थ आहारकै श्रेणीमा राखेको छ। नोभेम्बरमा हुन लागेको कोप२६ सम्मेलनअघि डब्ल्यूएचओले आफ्ना १९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न आग्रह गरेको छ।

गत बुधवार प्रकाशित नयाँ निर्देशिकामा डब्ल्यूएचओले पीएम२.५ भनिने सूक्ष्म कणको अधिकतम मात्रा मात्रा पहिलाको भन्दा आधा घटाइदिँदै त्योभन्दा बढी भए त्यो हानिकारक हुने जनाएको छ। त्यस्ता कणहरू ऊर्जा उत्पादनका लागि इन्धन बाल्दा र सवारीसाधनका इन्जिनले उत्पादन गर्छन्। अद्यावधिक निर्देशिकामा प्रस्ताव गरिएअनुसार विद्यमान वायु प्रदूषणको मात्रा घटाउन सकिए पीएम२.५ सँग सम्बन्धित झन्डै ८० प्रतिशत मृत्यु रोक्न सकिन्छ ।