प्रदेश दुईमा संक्रमित स्वास्थ्यकर्मीको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

जनकपुर । प्रदेश २ मा कोरोना महामारी न्यूनिकरणमा लडिरहेका जनशक्ति स्वयमः संक्रमित भएमा उनीहरुको खर्च सरकारले बेहोर्ने भएको छ । प्रदेश २ सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । राससका अनुसार आइतबार बसेको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

उक्त बैठकले भविष्यमा बढ्न सक्ने सङ्क्रमितको चापलाई दृष्टिगत गरी प्रदेश भित्रका निजी अस्पताललाई नेपाल सरकारको मापदण्डबमोजिम सम्झौंता गरी सञ्चालनमा ल्याउन सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो। प्रदेशभित्र सञ्चालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्न लगाउनसमेत निर्णय गरेको छ।