विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मतका लागि प्रस्ताव गर्ने भएका छन् । प्रदेशसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकमा आचार्यले विश्वासको मत माग्ने भएका हुन् । प्रस्तावमा शुक्रबार नै मतदान हुने सम्भावना भने कम रहेको नेताहरुले बताएका छन् । सोहीकारण विपक्षी दलले भने एमालेले सत्ता लम्ब्याउन चाहेको आरोप लगाएका छन् । यता, सत्तारुढ दलले भने दसैँ मनाउन गएका प्रदेशसभा सदस्य विराटनगर नफर्किएकाले प्रस्ताव आज टेबुल मात्र हुने बताएका छन् ।
मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद् सचिवालयमा सूचना दर्ता गराएका थिए । त्यसपछि संसद बैठक स्थगित गराईएको थियो । दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोहीकारण आचार्यले विश्वासको मतको सामना गर्नुपर्नेछ । उनी भदौ १० मा मुख्यमन्त्री बनेका थिए ।
संसदको बहुमतबाट विश्वासको मत पारित नभए मुख्यमन्त्री पदमुक्त हुनेछन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक छ । तर एमालेसँग मात्र ४१ मत छ । उता, विपक्षी गठबन्धनसँग भने कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन् ।