विराटनगर । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीको बर्हिगमनसँगै बाँकी रहेको एक मात्र प्रदेश सरकार समेत आजबाट एमालेको हातबाट खोसिँदैछ । विपक्षी गठबन्धनले मूख्य मन्त्री भीम आचार्यको विपक्षमा मत हाल्ने निर्णय गरेका कारण उनको पद धरापमा परेको हो । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिैदैछन् । साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची राखिएको छ ।
यद्दपी मत विभाजनमा जानु अगाडी नै आचार्यले राजिनामा दिन सक्ने सम्भावना पनि छ । उनी अल्पमतमा परेका छन् । ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउन ४७ मत चाहिन्छ । विपक्षी गठबन्धनमा ५० मत छ । सत्तारुढ दल एमालेमा सभामुखसहित ४१ जना मात्र छन् । यसअघि बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यले विश्वासको मतको सामना नगरी राजिनामा गरेकी थिइन् । आचार्यले विश्वासको मत नपाए वा राजीनामा दिएमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् ।