प्रदेश २ मा माओवादी केन्द्र सरकारमा गयो

जनकपुर । प्रदेश नं २ मा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र समावेश भएको हो । शनिबार मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

मधेश भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री कर्णले मुख्यमन्त्री राउतसमक्ष पद तथा गोपनियताको शपथ लिए । माओवादी केन्द्रका सांसदहरुलाई मन्त्री नियुक्त गर्नुअघि दुईमन्त्रीले राजीनामा दिए । जनता समाजवादी पार्टीबाट आन्तरिक मामिलामन्त्री बनेका ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुसवाहले शनिबार राजीनामा दिएका छन् । जसपामा पूर्व राजपा खेमामा एक मन्त्री र तीन राज्यमन्त्रीलाई यसअघि नै बर्खास्त गरिएको थियो । अब प्रदेश २ मा कांग्रेस र माओवादी सत्तारुढ दल बनेका छन् ।