काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलन उत्कर्षमा छ । बिहीबार प्रहरीसँग झडप भएसँगै आज नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश नै नदिने गरि आन्दोलनको तयारी गरिएको छ । बिहान १० बजेबाट आन्दोलन शुरु गर्ने र राणालाई प्रवेश मै रोक लगाउने तयारी कानून व्यवसायीले गरेका हुन् । नेपाल बार एसोसिएशनको आयोजनामा आन्दोलन भइरहेको छ । कानून व्यवसायीले प्रधानन्यायाधीशको राजिनामा माग गरिरहेका छन् ।
बारका महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकाल्दै सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नै नेपाल बार एसोसिएशनमा उपस्थित हुन भनेका छन् । प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्न बाध्य हुने बारको चेतावनी छ । सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न बारले भनेको छ ।