प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावबारे प्रतिनिधिसभामा आजबाट छलफल

काठमाडौं । अहिले निलम्बितमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे प्रतिनिधि सभाको आजको बैठकबाट छलफल शुरु हुने भएको छ । संघीय संसद सचिवालयको कार्यसूची अनुसार आइतबार बिहान ११ बस्ने बैठकमा महाभियोग प्रस्ताव पेस हुने कार्यक्रम छ । संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिन प्रतिनिधि सभामा पेस गर्न परिपक्व हुन्छ ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१(५) मा तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक सदस्यले महाभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ । प्रतिनिधि सभामा पेस भएपछि महाअभियोगबारे छलफलको हुने समय तोकिन्छ ।

छलफल सकिएपछि सभामुखले प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनुपर्नेछ । समितिले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्छ । १ फागुन २०७९ मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि विभिन्न २१ वटा आरोपसहित संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।