काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ । उनको मिर्गौला प्रत्यारोपणको प्रक्रिया विहान ९ बजेबाट शुरु भएको छ । यो प्रक्रिया पाँच घण्टामा सकिने बताइएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । वरिष्ठ चिकित्सक डाक्टर अरुण सायमीलगायतको टीम उपचारमा खटिएको छ । मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।
उनको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ । मिर्गौला प्रत्यारोपणपछि बिरामी ५ देखि ६ दिनसम्म अस्पतालमै रहनुपर्छ ।
प्रधानमन्त्री अस्पतालको एनेक्स वार्डको भिभिआइपी क्याबिनको ६०१ नम्बरमा उपचारार्थ भर्ना भएका छन् ।
यस अस्पतालमा भिभिआइपीका लागि ६०१ र ६०२ गरी दुईवटा क्याबिन छन् । प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गरेकी छिन् ।
उनको १२ वर्ष अघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका समकक्षीहरूले सफल शल्यक्रियाको शुभेच्छा व्यक्त गरेका छन् ।
भुटानका प्रधानमन्त्री डा. लोट्टी छिरिङ, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, जापानी समकक्षी सिन्जे आवेले पत्र पठाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै स्वास्थ्य लाभको कामना गरेका थिए ।